काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्न आफूहरू अडिग रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंको शोभा भगवतीस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले महाधिवेशनको तयारी अघि बढिसकेको बताउनुभएको हो ।
उहाँले १४औँ महाधिवेशनबाट १५औँ महाधिवेशनसम्मको प्रक्रिया पार्टीको विधि र विधानअनुसार अघि बढाउनुपर्ने बताउनुभयो । विशेष महाधिवेशन कांग्रेसको चाहना नभएको उल्लेख गर्दै उहाँले कसैको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न विधि र नियम मिच्नु उचित नहुने धारणा राख्नुभयो ।
सिंहले राजनीतिक दलका राजनीतिक मुद्दा र एजेन्डा दलले नै तय गर्नुपर्ने तथा न्यायिक विषयमा अदालतले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘राजनीतिक मुद्दा र एजेन्डा पार्टीले नै तय गर्ने हो भने न्यायिक विषय अदालतले हेर्ने हो । नेपाली कांग्रेस लोकतन्त्र र न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्छ ।’
बीपी कोइराला र गणेशमान सिंहले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कंदा राजनीतिक उद्देश्य र राष्ट्रियताको सवाललाई प्राथमिकतामा राखेको स्मरण गर्दै उहाँले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसंग्रहपछि पनि कांग्रेस आफ्नो लोकतान्त्रिक मान्यताबाट पछि नहटेको बताउनुभयो ।
त्यसकै निरन्तरतामा २०४६ सालमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै सिंहले अहिले पनि कांग्रेसले विधि, नियम र लोकतान्त्रिक मूल्य–मान्यताको उदाहरण प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको विधान तथा नेपालको संविधानको भावना र मर्मअनुसार महाधिवेशन सम्पन्न गर्दै विधिको शासन, जनताको अधिकार र राष्ट्रको हितको रक्षा गर्नु आफूहरूको दायित्व भएको बताउनुभयो ।
नेपाली कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ ।











प्रतिक्रिया