काठमाडौं, २ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भएको द्विपक्षीय वार्ताको तस्बिरमा नेपाली झण्डा नदेखिएको विषयमा प्रश्न उठेको छ।
बिहीबार नयाँदिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा वाग्ले र सीतारमणबीच ‘वन अन वन’ तथा प्रतिनिधिमण्डलस्तरीय छुट्टाछुट्टै वार्ता भएको थियो। बैठकमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्य सहभागी थिए।
सार्वजनिक तस्बिरमा भारतीय पक्षतर्फ भारतीय झण्डा देखिए पनि नेपाली पक्षतर्फ नेपाली झण्डा नदेखिएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रश्न उठाइएको हो। प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुवैतर्फ भारतीय झण्डा देखिएको दाबीसमेत गरिएको छ।

यद्यपि बैठकस्थलको डिजिटल बोर्डमा नेपाल र भारत दुवै देशका झण्डा देखाइएको र अर्थमन्त्री वाग्लेको अगाडि टेबलमा सानो आकारको नेपाली झण्डा राखिएको अर्थमन्त्रीका प्रेस संयोजक नवीन ढुंगानाले बताउनुभएको छ।
बैठकका क्रममा नेपाल–भारत दीर्घकालीन आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटीलगायत विषयमा दुवै पक्षबीच छलफल भएको नेपाली दूतावासले जनाएको छ।
भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसहित अन्य भारतीय उच्च अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।











प्रतिक्रिया