सर्लाही, ३१ भदौ । सर्लाहीको कबिलासी नगरपालिका–७ सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मलङ्गवा–नवलपुर सडकखण्डमा मंगलबार साँझ मधेस प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोक्किएका थिए।
दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र भारतीय मोटरसाइकल चालक कबिलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। भारतीय मोटरसाइकलमा सवार कबिलासी–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवान घाइते हुनुभएको प्रहरीले जनाएको छ।
घाइते दुवै जनाको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ। उनीहरूलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको डीएसपी गौतमले जानकारी दिनुभयो।
प्रहरीका अनुसार तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया