कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको पूर्वनिर्धारित तालिका स्थगित नगरी संस्थापन पक्षले गरेको निर्णयप्रति सहमत हुन नसकिने जनाएको छ ।

देउवा समूहका शीर्ष नेताहरूको सोमबार बिहान भएको छलफलले संस्थापन पक्षको निर्णय स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको नेता एनपी साउदले जानकारी दिनुभयो ।

संस्थापन पक्षले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सबै सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा १५औँ महाधिवेशनमा सहभागी गराउन विधानबमोजिम आवश्यक व्यवस्था गर्ने निर्णय गरेको थियो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार महाधिवेशनमा कोही पनि नछुटून् भन्ने उद्देश्यले असहमति र चासोलाई संवाद तथा सहमतिमार्फत सम्बोधन गर्न निरन्तर पहल गर्ने उद्देश्यले निर्णय गरिएको हो ।

यसअघि देउवा पक्षले साउन २९ गतेदेखि तीनदिने राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । सम्मेलनपछि कांग्रेसको असन्तुष्ट पक्षले छुट्टै १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

संस्थापन पक्षले भने यसअघि नै १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको छ ।

दुवै पक्षले छुट्टाछुट्टै मितिमा महाधिवेशन गर्ने निर्णय गरे पनि पार्टीभित्र सहमति र एकताको प्रयास भने जारी रहेको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति: २९ भदौ २०८३, सोमबार  १८ : २७  बजे