काठमाडौं, २७ भदौ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले पाउनुभएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले शर्मालाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा पनि सहभागी हुनुहुन्थ्यो ।
नेतृत्व सम्हाल्दै शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीतिक तथा व्यावसायिक जीवनको गहिरो सम्बन्ध रहेको स्मरण गर्नुभयो । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सुजाता कोइरालालाई भारत हुँदै अमेरिका तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएर नेपालको प्रजातन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने अभियानमा आफू जोडिएको उहाँले बताउनुभयो ।
त्यतिबेला नजरबन्दमा रहनुभएका गिरिजाप्रसाद कोइरालालाई बाहिर निकाल्नसमेत अन्तर्राष्ट्रिय तहमा पहल गरिएको उहाँले बताउनुभयो ।
शर्माले गिरिजाप्रसाद कोइरालाको सहयोगकै कारण आफूले व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्न सकेको उल्लेख गर्नुभयो । उहाँले गिरिजाप्रसादलाई आफ्नो ‘अर्को बुबा’का रूपमा स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गिरिजाप्रसाद कोइराला नभएको भए अहिलेको सुनील शर्माको मेडिकल विरासत हुने थिएन । गिरिजाबाबुले निःस्वार्थ रूपमा कुनै कुरा नमागी नोबेल मेडिकल कलेजको सम्बन्धन दिलाइदिनुभएको हो । त्यसकै आधारमा काठमाडौं मेडिकल कलेजसम्म आइपुगियो ।’
बुबाको मुख हेर्ने दिनको सन्दर्भ उल्लेख गर्दै शर्माले जैविक बुबा–आमासँगै आफ्नो व्यावसायिक यात्रामा गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । गिरिजाप्रसादको आशीर्वादले आफूले व्यावसायिक संस्थालाई कर्पोरेट हाउसका रूपमा विकास गर्न सकेको उहाँको भनाइ थियो ।











प्रतिक्रिया