काठमाडौं, २८ साउन । नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति आपत्ति जनाउँदै सरकारको पूर्वाग्रही र प्रतिशोधी व्यवहार स्वीकार्य नहुने बताएको छ ।
बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई मध्यरातमा पक्राउ गरिएको, पत्रिकाको कार्यालयमा खानतलासी गरिएको र अदालतमा उपस्थित गराउँदा हतकडी लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
कांग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू दृढ रहेको उल्लेख गर्दै सञ्चारमाध्यमसम्बन्धी कानुन र आचारसंहिताको पालना हुनुपर्नेमा स्पष्ट रहेको जनाएको छ ।
कसैले कानुनविपरीत काम गरे प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही हुनुलाई स्वाभाविक मान्न सकिने भए पनि संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गर्ने र हतकडी लगाउने कार्य गलत र अवाञ्छित भएको कांग्रेसको ठहर छ ।
कांग्रेसले घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरी नागरिकको सुसूचित हुने मौलिक अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिएको जनाएको छ ।
कांग्रेसले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने भए पनि राज्य संयन्त्रले पूर्वाग्रह र प्रतिशोधलाई साध्य बनाएर गर्ने व्यवहार भने कदापि स्वीकार्य नहुने स्पष्ट पारेको छ ।












प्रतिक्रिया