काठमाडौं, ११ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सार्वजनिक छलफलका क्रममा प्रश्न गर्ने नागरिकलाई धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको भिडियो सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ।
कैलालीको लम्कीचुहा अस्पतालको सेवा, सुरक्षा र व्यवस्थापनसम्बन्धी समस्या उठाउन आयोजित छलफलका क्रममा अस्पताल व्यवस्थापन समिति सदस्य धिरेन्द्र थापाले अस्पतालमा सुरक्षा अभाव र काम गर्ने वातावरण नभएको गुनासो राख्नुभएको थियो। त्यसक्रममा सांसद खनालले आवेशमा प्रतिक्रिया जनाउँदै, “कसले भन्यो ? प्रमाण छ ? हाल्छु, जाक्दिन्छु, अनि थाहा हुन्छ” भन्नुभएको भिडियो सार्वजनिक भएको हो।
थापाका अनुसार आफूले अस्पतालमा केही दिनअघि अज्ञात समूहले तालाबन्दी गरेको र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरण आवश्यक रहेको विषय उठाउनुभएको थियो। सोही विषयमा छलफल भइरहेका बेला सांसद खनालले आक्रोशपूर्ण प्रतिक्रिया दिनुभएको उहाँको भनाइ छ।
थापाले आफूले अस्पताल सञ्चालनमा देखिएका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन खोजेको बताउँदै सांसदको अभिव्यक्ति अनुचित रहेको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार छलफलका क्रममा व्यवस्थापन समितिको विषयमा पनि दुवै पक्षबीच मतभेद भएको थियो।
घटनाबारे प्रतिक्रिया लिन खोज्दा सांसद खनाल कार्यक्रमका कारण व्यस्त रहेको भन्दै उहाँको सचिवालयले तत्काल प्रतिक्रिया दिन सकेन।
सार्वजनिक भएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ भने सांसदको अभिव्यक्तिलाई लिएर व्यापक बहस सुरु भएको छ।







प्रतिक्रिया