काठमाडौं, ११ साउन । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको, नेपालका लागि जापानी राजदूत माएदा तोरु, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रूपमा रिबन काटेर सुरुङमार्ग सञ्चालनमा ल्याएका हुन्।
उद्घाटन कार्यक्रममा नेपालतर्फको शिलालेख मन्त्री लम्सालले अनावरण गरे भने जापानी पक्षको शिलालेख जाइकाका अध्यक्ष र जापानी राजदूतले संयुक्त रूपमा अनावरण गरेका थिए। उद्घाटनपछि मन्त्रीसहितको टोलीले सुरुङमार्गको अवलोकन तथा यात्रा गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ले नागढुङ्गा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय सुरु भएको बताए। कठिन भौगोलिक चुनौतीका बाबजुद राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यका कारण परियोजना सफल भएको उल्लेख गर्दै उनले भविष्यमा थप सुरुङमार्ग निर्माणका लागि यसले मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार सुरुङ निर्माणले नेपाली प्राविधिक जनशक्तिलाई हिमाली सुरुङ निर्माणसम्बन्धी महत्वपूर्ण अनुभव दिलाएको छ, जसले आगामी पूर्वाधार परियोजनामा समेत योगदान पुर्याउनेछ।
जाइका र नेपाल सरकारको संयुक्त लगानीमा करिब १९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो आयोजनाको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ। उद्धार सुरुङ र क्रस–प्यासेजसहित कुल सुरुङ लम्बाइ करिब ५.५ किलोमिटर रहेको छ।
सडक विभागका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधन लाई मात्र सञ्चालन अनुमति दिइनेछ। परीक्षण अवधि सम्पन्न भएपछि क्रमशः अन्य सवारीसाधनका लागि पनि सुरुङमार्ग खुला गरिनेछ। परीक्षण अवधिभर कुनै शुल्क नलाग्ने भए पनि नियमित सञ्चालनपछि सवारीसाधनको प्रकारअनुसार शुल्क लागू हुनेछ।
सुरुङमार्गमा मोटरसाइकल, पैदलयात्री, तीनपाङ्ग्रे तथा प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधन लाई प्रवेश निषेध गरिएको छ।
काठमाडौंको दहचोक टोटीपाखादेखि धादिङको सिस्नेखोलासम्म जोडिएको यस सुरुङमार्गले नागढुङ्गा खण्डको जाम, घुमाउरो सडक र पहिरोको जोखिम कम गर्दै यात्रा समय घटाउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया