काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि घाइतेका आफन्तले सुरक्षाकर्मीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्।
घटनामा गोली लागेर घाइते भएका मिथलेश मेहताका बुबा दिलिप मेहताले प्रहरीले कम्मरमाथि ताकेर गोली चलाएको दाबी गर्नुभएको छ। उहाँका अनुसार साउने सोमबारको तयारीस्वरूप मन्दिरमा झण्डा राख्ने विषयमा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो।
उहाँले सुरुमा कुनै गम्भीर आक्रमण नभएको अवस्थामा प्रहरीले गोली चलाएको आरोप लगाउँदै आफूले देखेका सबै घाइतेको शरीरको कम्मरमाथिको भागमा गोली लागेको बताउनुभयो।
प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य नौ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये केहीको पेट, ढाड, गर्दन र हातमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार झडप नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले २५ राउन्ड गोली चलाएको थियो। घटनामा १३ जना सुरक्षाकर्मीसहित कुल २२ जना घाइते भएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया