सुनसरीमा तनावपछि देवानगञ्ज र हरिनगरमा निषेधाज्ञा

काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक झडपपछि स्थानीय प्रशासनले देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको हो। आदेशअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढीको समूहमा हिँडडुल, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न रोक लगाइएको छ।

आइतबार राति साउने सोमबारका अवसरमा बोलबम यात्रामा सहभागी एक समूह र अर्को समूहबीच विवाद चर्किएपछि झडप भएको थियो। स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था सामान्य हुन नसकेपछि गोली चलाएको जनाएको छ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा सर्वसाधारण र प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

घटनापछि स्थानीयका घर, पसल तथा सवारीसाधनमा तोडफोड भएको जनाइएको छ। सम्भावित थप अप्रिय घटना रोक्न सुनसरी र मोरङबाट थप प्रहरी परिचालन गरी प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  ०७ : ४५  बजे