काठमाडौं, ११ साउन । प्रेस स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन भएको छ। उहाँ ८० वर्षको हुनुहुन्थ्यो।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–शंकरनगर स्थायी घर भएका ज्ञवालीको काठमाडौंस्थित बी एण्ड बी अस्पतालमा शनिबार राति उपचारका क्रममा निधन भएको हो। उहाँ केही समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याका कारण उपचाररत हुनुहुन्थ्यो।
नेपाली पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहनुभएका ज्ञवाली प्रेस स्वतन्त्रता, निष्पक्ष पत्रकारिता र व्यावसायिक मूल्यमान्यताको पक्षमा निरन्तर योगदान पुर्याउनुभएको व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रूपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकसहित दर्जनौँ सम्मान प्राप्त गर्नुभएको थियो।
उहाँको निधनप्रति पत्रकारिता क्षेत्र, विभिन्न सञ्चार संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।







प्रतिक्रिया