प्रहरीको गोली लागेर युवकको मृत्यु, सुनसरीको कप्तानगञ्ज तनावग्रस्त

काठमाडौं, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउने सोमबारका अवसरमा भएको विवाद उग्र बन्दा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बोलबम यात्राका लागि रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी भइरहेका बेला अर्को पक्षले विरोध गरेपछि दुई समूहबीच विवाद सुरु भएको थियो। विवादले झडपको रूप लिएपछि अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो।

प्रहरीका अनुसार सुरुमा अश्रुग्यास प्रहार गरिएको थियो। त्यसपछि हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको दाबी गरिएको छ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उहाँलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकहरूले मृत घोषणा गरेका हुन्।

घटनामा आठ जना सर्वसाधारण गोली लागेर घाइते भएका छन्। कोशी अस्पतालमा उपचाररत घाइतेमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादव रहनुभएको छ।

त्यसैगरी विराट नर्सिङ होममा २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव तथा २५/२५ वर्षीय दुई जना सुनिलकुमार मेहता उपचाररत रहेको प्रहरीले जनाएको छ।

झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना प्रहरी कर्मचारी पनि घाइते भएका छन्। घाइते प्रहरीमा प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव तथा जवानहरू रामबहादुर राई, विजय यादव, बुद्धदेव साह र निवेश यादव रहनुभएको छ।

घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  ०७ : २८  बजे