काठमाडौं, ११ साउन । साउन महिनाको दोस्रो सोमबारका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनार्थीका लागि खोलिएको हो। साउने झरीका बीच पनि भक्तजनहरू बिहानैदेखि पूजाआराधना र दर्शनका लागि मन्दिर पुगेका छन्।
कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठका अनुसार भक्तजनको सहज, सुरक्षित र व्यवस्थित दर्शनका लागि विशेष व्यवस्था गरिएको छ। पहिलो सोमबारको अनुभवका आधारमा यसपटक थप व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो।
दर्शन व्यवस्थापनका लागि कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाका स्वयंसेवक परिचालित भएका छन्।
कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार बिहान ३ बजेदेखि खुलेका मन्दिरका चारै ढोका साँझ आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन्। विशेष पूजा भने बिहान ८:३० बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै सञ्चालन हुनेछ।
दर्शनका लागि चार वटा छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको आगमन भए पनि अत्यधिक लाम नलागेको कोषले जनाएको छ। साथै प्राथमिक उपचारसहित आवश्यक सबै सेवा उपलब्ध गराइएको छ।
पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका शिवालय तथा देशभरका प्रमुख शिव मन्दिरमा पनि भक्तजनको उल्लेख्य भीड लागेको छ।







प्रतिक्रिया