काठमाडौं, ११ साउन । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन हुँदैछ। जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षसहितका उच्च अधिकारीहरूको उपस्थितिमा हुने कार्यक्रम तय गरिएको छ।
उद्घाटनसँगै निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गर्नेछ। पहिलो चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइनेछ भने केही दिन परीक्षण सञ्चालनपछि अन्य सवारीका लागि पनि मार्ग खुला गरिने जनाइएको छ।
कुल २ हजार ६८८ मिटर लामो मुख्य सुरुङमार्गसँगै उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ। परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट कुनै शुल्क नलिइने भए पनि नियमित सञ्चालनपछि कार, बस, ट्रक तथा अन्य सवारीका लागि तोकिएको शुल्क लागू हुनेछ।
सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्ज्वलनशील पदार्थ र विस्फोटक सामग्री बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ।
सडक विभागका अनुसार सुरुङभित्र सीसीटीभी, दमकल, आकस्मिक उद्धार प्रणाली, सञ्चार सेवा, भेन्टिलेसन तथा अक्सिजन व्यवस्थासहित अत्याधुनिक सुरक्षा संयन्त्र जडान गरिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रको ट्राफिक जाम, उकालो तथा घुमाउरो सडकको समस्या कम भई यात्राको समय करिब एक घण्टा बचत हुने अपेक्षा गरिएको छ।
कोरोना महामारी र प्राविधिक जटिलताका कारण निर्माण अवधि लम्बिए पनि आयोजना अन्ततः सम्पन्न भई आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो।







प्रतिक्रिया