उद्घाटनको पूर्वसन्ध्यामा नागढुंगा सुरुङको शिलालेख बेपत्ता

काठमाडौं,  १० साउन  । नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यासका क्रममा राख्नुभएको शिलालेख हराएको पाइएको छ। आयोजनाको औपचारिक उद्घाटन हुनुअघि शिलालेख फेला नपरेपछि यसको खोजी भइरहेको आयोजनाले जनाएको छ।

सुरुङमार्ग आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सामाजिक सञ्जालमा शिलालेख हटाइएको भन्ने चर्चा भए पनि त्यसलाई जानाजानी हटाइएको नभई निर्माणका क्रममा कतै हराएको हुन सक्ने अनुमान गरिएको छ। उहाँले शिलालेख खोज्ने काम जारी रहेको जानकारी दिनुभयो।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ साल कात्तिक ४ गते गर्नुभएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यो आयोजना करिब १९ अर्ब रुपैयाँ लागतमा सम्पन्न भएको हो।

मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर रहेको छ भने निकास सुरुङ र क्रस–प्यासेजसमेत जोड्दा कुल लम्बाइ करिब ५ दशमलव ५ किलोमिटर पुग्छ।

सुरुङमार्गको औपचारिक उद्घाटन सोमबार हुने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुवाती चरणमा एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिइने तयारी गरिएको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १५ : ५९  बजे