काठमाडौं, १० साउन । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीहरूले गरेको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार गत साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका लजिन नौ दिनदेखि सम्पर्कविहीन थिए। शनिबार बिहान करिब सवा ९ बजे बडिगाड–१ स्थित मनखोलामा उहाँको शव फेला परेको हो।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बडिगाड–१ का २० वर्षीय रेमबहादुर बिक, १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियारलाई पक्राउ गरेको छ। शव फेला पर्नुअघि नै उनीहरूलाई बेपत्ता प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको थियो।
प्रहरीका अनुसार जन्मदिनको अवसरमा मादक पदार्थ सेवन गरेपछि घर फर्किने क्रममा लजिनको आइफोन मोबाइलको विषयमा विवाद भएको थियो। त्यसक्रममा रेमबहादुर र ददि परियारले मुक्का र ढुंगाले प्रहार गर्दा लजिनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्यापछि आरोपितहरूले लजिनको शव मनखोलामा लगेर लुकाएका थिए। मोबाइल साथमा राख्दा प्रहरीलाई शंका हुन सक्ने भन्दै लुटिएको आइफोन पुनः मृतककै साथमा राखिदिएको उनीहरूले प्रारम्भिक बयानमा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौँमा बस्दै साइपाल कलेजमा अध्ययनरत लजिन एसईईपछि कक्षा ११ को परीक्षा सकेर नागरिकता बनाउन घर फर्किनुभएको थियो। उहाँ आफ्ना आमाबुवाका एक्ला छोरा हुनुहुन्थ्यो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







प्रतिक्रिया