धान रोपाइँको बेला रासायनिक मल संकट, किसान चिन्तित

काठमाडौं, १० साउन । मध्य बर्खामा धान रोपाइँ र गोडमेलको मुख्य समयमा किसानले रासायनिक मलको अभाव झेलिरहेका बेला सरकारले भने प्राङ्गारिक मलको प्रयोग बढाउन जोड दिएको छ।

धान रोपिसकेपछि गाँज आउने र बाला लाग्ने चरणमा पर्याप्त रासायनिक मल आवश्यक पर्ने भए पनि चाहिएको मात्रामा मल नपाउँदा किसान चिन्तित बनेका छन्। हरेक वर्षजस्तै यस वर्ष पनि सहकारी र बिक्री केन्द्रमा मल अभावको समस्या दोहोरिएको किसानहरूको गुनासो छ।

सरकारले भने रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको र वितरण प्रक्रिया चलिरहेको दाबी गर्दै आएको छ। तर अन्तर्राष्ट्रिय आपूर्ति समस्या, मूल्यमा हुने उतारचढाव तथा वितरण व्यवस्थापनका चुनौतीका कारण किसानले सहज रूपमा मल पाउन नसकेको स्वीकार गरिएको छ।

यसैबीच कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धनुषाका विभिन्न क्षेत्रमा पुगेर स्थानीय स्रोतबाट उत्पादन हुने गोठे तथा प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्नुभएको छ। उहाँले माटोको दीर्घकालीन उर्वराशक्ति जोगाउन र रासायनिक मलमाथिको निर्भरता घटाउन प्राङ्गारिक मल प्रभावकारी विकल्प हुने बताउनुभयो।

विज्ञहरूले पनि नेपालमा मल उत्पादन गर्ने उद्योग नहुँदा आयातमै निर्भर रहनुपरेको र यही कारण प्रत्येक वर्ष मल अभावको समस्या दोहोरिने गरेको बताएका छन्। सरकारले स्वदेशमै मल उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढाए पनि तत्कालका लागि किसानले रासायनिक मल अभावको समस्या भोगिरहनुपर्ने अवस्था देखिएको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार  १५ : ३३  बजे