काठमाडौं, १० साउन । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रश्नपत्र सार्वजनिक भएको खबर आएलगत्तै शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरी घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न निर्देशन दिनुभएको थियो।
प्रहरीका अनुसार ‘एमबीएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको पाँच मिनेटमै ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र सार्वजनिक गरिएको थियो।
घटनापछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले साइबर ब्यूरोलाई अनुसन्धानका लागि पत्राचार गरेको छ भने परीक्षा नियन्त्रण महाशाखाले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।







प्रतिक्रिया