काठमाडौं, ९ साउन । काठमाडौंको महाराजगन्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार साँझ भएको भीषण सवारी दुर्घटनामा इभी (विद्युतीय) माइक्रो बसका चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साँझ करिब ७ः१५ बजे बसुन्धरा चोकबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०८१४ नम्बरको इभी माइक्रो अनियन्त्रित भई सोही दिशातर्फ गुडिरहेका विभिन्न सवारीसाधनलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका माइक्रो चालक लमजुङ सिङ्दी गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्ने ५६ वर्षीय रामकृष्ण हवाललाई तत्काल त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति ८ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा इभी स्कुटी, मोटरसाइकल, बस र ट्याक्सीमा सवार गरी ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको त्रिवि शिक्षण अस्पताल र एक जनाको मेट्रो अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था मध्यम छ।
अनियन्त्रित माइक्रोले १० वटा सवारी साधनमा क्षति पुर्याएको प्रहरीले जनाएको छ। ठक्कर दिने माइक्रोको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बस, टाटा बस, इभी स्कुटी, मोटरसाइकल, दुई ट्याक्सी र अन्य सवारीका पछाडिका भागमा समेत क्षति पुगेको छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।







प्रतिक्रिया