सचिवालय विस्तारमा बालेन, २७ जना नियुक्त भएको खुलासा

काठमाडौं, ८ साउन । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आफ्नो स्वकीय सचिवालयमा हालसम्म २७ जनालाई नियुक्त गरेको विवरण सार्वजनिक भएको छ।

नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले प्रतिनिधिसभामा सोधेको प्रश्नको लिखित जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले प्रधानमन्त्रीको स्वकीय सचिवालयका लागि ४८ जनाको दरबन्दी रहेकामा हाल २७ जना नियुक्त भएको जानकारी दिएका हुन्।

जवाफअनुसार प्रधानमन्त्रीका दुई जना मन्त्रीसरह सुविधा पाउने सल्लाहकार (मुख्य सल्लाहकार र राजनीतिक सल्लाहकार) तथा दुई जना राज्यमन्त्रीसरह सुविधा पाउने सल्लाहकार (नीति, प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार) नियुक्त भएका छन्। साथै, एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार यी नियुक्ति गरिएको सचिवालयले जनाएको छ।

जवाफमा मन्त्रीहरूको सचिवालय सम्बन्धी व्यवस्थासमेत स्पष्ट पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, पूर्वाधार विकास तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयका मन्त्रीहरूले विशिष्ट श्रेणीसरहका एक जना वैतनिकसहित बढीमा पाँच जना सल्लाहकार राख्न सक्ने व्यवस्था छ। अन्य मन्त्रालयका मन्त्रीहरूले विशिष्ट श्रेणीसरहका एक जना वैतनिकसहित बढीमा तीन जना सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था रहेको उल्लेख छ।

त्यस्तै, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको स्वकीय सचिवालयमा ९/९ जनाको दरबन्दी रहने व्यवस्था छ। सेवा–सुविधाअनुसार उपप्रधानमन्त्रीले राजपत्रांकित प्रथम श्रेणीसरहका प्रमुख स्वकीय सचिव तथा मन्त्री/राज्यमन्त्रीले राजपत्रांकित द्वितीय श्रेणीसरहका प्रमुख स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ।

यसका अतिरिक्त प्रत्येक मन्त्रीको सचिवालयमा स्वकीय सचिव, समन्वय तथा अनुगमन अधिकृत, सञ्चार तथा जनसम्पर्क सहायक, सहायक कर्मचारी, सवारी चालक र कार्यालय सहयोगीसहितको संरचना रहने तथा सम्बन्धित श्रेणीअनुसारको सेवा–सुविधा प्राप्त गर्ने व्यवस्था रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  २१ : २०  बजे