सीमा क्षेत्रको नियमित अनुगमन गर्न विशेष संयन्त्र बनाइँदै : गृहमन्त्री गुरुङ

काठमाडौं, ८ साउन । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नियमित अनुगमन र निरीक्षणका लागि विशेष अनुगमन संयन्त्र गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ।

राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा बोल्दै उहाँले सीमा क्षेत्रका समस्याको स्थलगत अध्ययन गरिसकेको उल्लेख गर्दै अब सादा पोशाकका प्रतिनिधिमार्फत नियमित निरीक्षण गरिने जानकारी दिनुभयो।

गृहमन्त्री गुरुङले आफू सीमा क्षेत्रमा जाँदा भीडभाड हुने र प्रभावकारी अनुगमनमा कठिनाइ हुने भएकाले विशेष टोली परिचालन गरी सीमा नाकामा भइरहेका गतिविधिको निरन्तर मूल्यांकन गरिने बताउनुभयो।

उहाँले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले टहरा तथा जीर्ण भवनमा बस्नुपर्ने, पानी चुहिने र कठिन अवस्थामा रातभर ड्युटी गर्नुपर्ने समस्या रहेको उल्लेख गर्दै ती पूर्वाधार सुधारलाई प्राथमिकतामा राखिने स्पष्ट पार्नुभयो।

खुला सीमाका कारण अपराधी एक देशबाट अर्को देशमा भाग्ने, लागूऔषध ओसारपसार तथा अन्य अन्तरदेशीय अपराध बढेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा बनाइने उहाँको भनाइ थियो।

गृहमन्त्री गुरुङले मधेश, कर्णाली र सुदूरपश्चिमका सीमा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताउँदै सुस्तावासीको नागरिकतासम्बन्धी समस्या समाधानको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिनुभयो।

बैठकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूले सीमा सुरक्षाका चुनौती, भइरहेका कामकारबाही तथा सुधारका योजनाबारे जानकारी गराएका थिए भने समिति सदस्यहरूले सीमा नाकामा नेपाली नागरिकले भोगिरहेका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  २० : ५१  बजे