ठमेल–दरबारमार्गबाट पक्राउ परेका ४७ विदेशी महिला देश निकाला, १० जनामाथि अनुसन्धान जारी

काठमाडौं, ८ साउन । काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्गमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ४७ विदेशी महिलालाई नेपालबाट देश निकाला (डिपोर्ट) गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विशेष अपरेशनमार्फत ५७ विदेशी महिलालाई नियन्त्रणमा लिइएको र तीमध्ये ४७ जनालाई अध्यागमन विभागमार्फत सम्बन्धित देश फर्काइएको जानकारी दिएको हो।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बाँकी १० जनामाथि अनुसन्धान जारी छ। देश निकाला गरिएका महिलाहरूलाई युगान्डा, भियतनाम, थाइल्यान्ड, बंगलादेश, केन्या र इन्डोनेसियालगायतका मुलुक पठाइएको प्रहरीले जनाएको छ।

एसपी भट्टराईले केही विदेशी नागरिक नेपालमा सस्तो जीवनयापन र नाइट लाइफको आकर्षणका कारण आएर पर्यटकीय क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न भएको गुनासोपछि विशेष अभियान सञ्चालन गरिएको बताउनुभयो।

उहाँले अनलाइन बेटिङ सञ्चालन गरी हुण्डी र क्रिप्टोमार्फत नेपालीहरूको रकम विदेश पठाउने संगठित सञ्जालमाथि पनि अनुसन्धान तीव्र पारिएको जानकारी दिनुभयो। बेटिङ वेबसाइटको निगरानी, आर्थिक कारोबारको विश्लेषण तथा संलग्न व्यक्ति र समूहको पहिचान गर्ने कार्य जारी रहेको उहाँको भनाइ छ।

यसैबीच, सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने विचौलियाविरुद्ध सञ्चालन गरिएको अभियानअन्तर्गत ३०९ जनालाई पक्राउ गरिएको र तीमध्ये ६१ जनाविरुद्ध कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  २० : ३४  बजे