काठमाडौं, ८ साउन । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भारतसँगको खुला सीमाका कारण पाकिस्तानी, सोमालियाली र रोहिङ्ग्या शरणार्थीहरूको अवैध रूपमा नेपाल प्रवेश गर्ने क्रम बढ्दै गएको बताउनुभएको छ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकमा उहाँले सीमा सुरक्षा, अन्तरदेशीय अपराध र कानुनी जटिलताबारे जानकारी दिँदै पछिल्लो समय भारत हुँदै नेपाल प्रवेश गर्ने विदेशी शरणार्थीहरूलाई पहिचान गरी सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको जानकारी दिनुभयो।
आईजीपी कार्कीका अनुसार यस्ता व्यक्तिहरूमध्ये केही लागुऔषध कारोबारलगायत सुरक्षा संवेदनशील गतिविधिमा संलग्न रहेको पाइएको छ। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको उहाँको भनाइ छ।
उहाँले दक्षिणी सीमामा मल खरिद–बिक्रीसँग सम्बन्धित तस्करी प्रकरणमा पक्राउ परेका नेपाली नागरिकको विषयमा भारतीय प्रहरीसँग ‘पुलिस–टु–पुलिस’ समन्वय तथा कूटनीतिक पहलमार्फत प्रक्रिया अघि बढाइएको र कानुनी प्रक्रिया पूरा भएपछि उनीहरू रिहा हुने अपेक्षा गरिएको बताउनुभयो।
आईजीपी कार्कीले खुला सीमाका कारण हातहतियार तथा लागुऔषध तस्करी, अन्तरदेशीय संगठित अपराध, साइबर ठगी, अनलाइन स्क्यामिङ, मानव बेचबिखन, अवैध वैदेशिक रोजगारी, बैंकिङ ठगी र अनलाइन सट्टेबाजी जस्ता अपराध चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार सीमा सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले नियमित गस्ती, संयुक्त सुरक्षा अभियानका साथै ड्रोन, स्क्यानर र तालिमप्राप्त के–९ (क्यानाइन) कुकुर परिचालन गर्दै निगरानीलाई सुदृढ बनाएको छ।
यस्तै, वैदेशिक रोजगारीको प्रलोभनमा भारत हुँदै तेस्रो मुलुक जाने प्रवृत्तिले मानव तस्करीको जोखिम बढाएको भन्दै उहाँले त्यसतर्फ पनि विशेष निगरानी बढाइएको जानकारी दिनुभयो।







प्रतिक्रिया