काठमाडौं, ८ साउन । सिरहाको लहानमा लागूऔषध नियन्त्रणका क्रममा पक्राउ परेका मोहम्मद नासिर मिया २५ वर्ष जेल सजाय पाएका फरार अभियुक्त रहेको खुलेको छ।
प्रहरीका अनुसार सप्तरी निवासी ४० वर्षीय नासिर कर्तव्य ज्यान तथा हातहतियारसम्बन्धी मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय पाइसकेका व्यक्ति हुन्। उनी झुम्का कारागारबाट फरार भएपछि लामो समयदेखि कानुनको पहुँचबाहिर रहेका थिए।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले लामो निगरानी र अनुसन्धानपछि बिहीबार सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा विशेष अपरेशन सञ्चालन गरेको थियो। प्रहरीका अनुसार पक्राउका क्रममा प्रतिरोध भएपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो, जसमा नासिरको घुँडामुनि गोली लागेको थियो।
उक्त अपरेशनमा एक भारतीय नागरिकसहित दुई जना घाइते भएका छन् भने ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालसँग सम्बन्ध रहेको आशंकामा अनुसन्धान भइरहेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवासचन्द्र बोहोराले लागूऔषध कारोबार संगठित अपराध भएको उल्लेख गर्दै यस्ता गतिविधिविरुद्ध अभियान अझ कडा बनाइने बताउनुभएको छ। उहाँले कानुनबाट भागेर कोही पनि उम्किन नसक्ने चेतावनी दिँदै देशभर निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। यो प्रकरणले सीमापार लागूऔषध तस्करी, फरार अभियुक्तको गतिविधि तथा अन्तर्राष्ट्रिय अपराध सञ्जालबारे थप प्रश्न उठाएको छ।







प्रतिक्रिया