रौतहटका सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार, प्रहरीले सुरु गर्‍यो खोजी

काठमाडौं, ८ साउन । रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरिएको छ। गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सकेर फर्किने क्रममा बिहीबार राति उहाँमाथि दुर्व्यवहार भएको हो।

सांसद पौडेलका अनुसार स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफलपछि फर्किने तयारी गरिरहँदा मास्क लगाएका २–३ जना व्यक्तिले पछाडिबाट आएर उहाँको ढाडमा कालो मसी दलेर फरार भएका थिए।

उहाँका अनुसार घटनामा संलग्न व्यक्तिहरूले हातमा रातो झण्डा र पर्चा बोकेका थिए तथा आफूहरू ‘मधेश मुक्ति अभियान’सँग आबद्ध रहेको संकेत दिएका थिए। घटनापछि कार्यक्रमस्थलमा रहेका स्थानीय र सहयोगीहरूले उनीहरूलाई पछ्याउने प्रयास गरे पनि अँध्यारोका कारण उनीहरू भाग्न सफल भएका थिए।

घटनालगत्तै प्रहरीलाई जानकारी गराइएको र अनुसन्धान सुरु गरिएको सांसद पौडेलले बताउनुभएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न एक मुख्य व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ। यद्यपि, हालसम्म कसैलाई पक्राउ गरिएको छैन भने दोषीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  १३ : ३४  बजे