गुडिरहेको मोटरसाइकलमा स्टन्ट महँगियो: सांसद बब्लु गुप्तालाई ५ सय रुपैयाँ जरिबाना

काठमाडौं, ८ साउन । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाउनुभएको प्रहरीले जनाएको छ।

गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उहाँमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको थियो।

सोही घटनापछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा उहाँलाई ५ सय रुपैयाँ जरिबाना गरेको हो।

जरिबानापछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले कानुन सबैका लागि समान भएको सन्देश दिएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने केहीले ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन्।

घटनापछि सांसद गुप्ताले फेसबुकमार्फत क्षमायाचना गर्दै बाल्यकालका सम्झनामा रमाउँदा मजाककै क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको र त्यस क्रममा ट्राफिक नियम उल्लंघन भएको महसुस गरेको बताउनुभएको छ। उहाँले भविष्यमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह र ट्राफिक नियम उल्लंघन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको थियो।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  १३ : ०९  बजे