काठमाडौं, ८ साउन । अविरल वर्षा र पहिरोका कारण देशभरका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार शुक्रबार बिहानसम्म नौ वटा राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एक दर्जनभन्दा बढी सडकमा यातायात प्रभावित भएको छ।
बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। त्यसैगरी कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
मेची राजमार्ग, अरनिको राजमार्ग, कालीगण्डकी करिडोर, सहिद राजमार्ग, नाग्म–गमगडी सडक, पासाङ ल्हामु सडकखण्ड, मध्यपहाडी लोकमार्ग तथा बेँसीसहर–चामे–मनाङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
यता, दोलखाको लामासाँघु–रामेछाप सडकखण्डमा नदी कटानका कारण अवरोध भए पनि वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिएको नेपाल प्रहरीले जनाएको छ।







प्रतिक्रिया