काठमाडौं, ७ साउन । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुक विदेशी शक्तिहरूको प्रतिस्पर्धाको खेलमैदान बन्ने खतरा बढ्दै गएको भन्दै राष्ट्रिय राजनीति गम्भीर मोडमा पुगेको बताएका छन्।
बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले देशको अस्तित्व, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमाथि नै प्रश्न उठ्न थालेको टिप्पणी गरे।
उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिले जनतामा भविष्यप्रति अन्योल र चिन्ता बढाएको छ। सरकारले गरेका गतिविधि, अभिव्यक्ति र व्यवहारका कारण नागरिकमा विभिन्न आशंका पैदा भएको उनको दाबी छ।
माधव नेपालले विश्वका विभिन्न मुलुकमा देखिएका शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा र द्वन्द्वलाई उदाहरण दिँदै नेपाल पनि त्यही दिशातर्फ धकेलिन सक्ने जोखिम रहेको बताए। इरान र युक्रेनजस्ता देशका घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै उनले नेपाललाई कुनै पनि विदेशी शक्तिको प्रभाव क्षेत्र बन्न नदिन सबै राजनीतिक शक्ति सचेत हुनुपर्ने धारणा राखे।
उनले नेपाल बुद्धको जन्मभूमि, सगरमाथाको देश र विश्वका पर्यटकहरूको आकर्षण बनेको शान्तिपूर्ण राष्ट्र भएकाले यसको स्वतन्त्रता, राष्ट्रिय हित र पहिचान जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
सहसंयोजक नेपालले अहिलेको चुनौतीपूर्ण परिस्थितिमा आफ्नो पार्टीको काँधमा विशेष जिम्मेवारी आएको उल्लेख गर्दै राष्ट्रिय राजनीति सही दिशामा अघि बढाउन सबै राजनीतिक दलले जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।







प्रतिक्रिया