सिरहामा प्रहरीको गोली चल्यो, ६ जना पक्राउ

जनकपुरधाम, ७ साउन । सिरहाको लहानमा लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् भने २२५ ग्राम खैरो हिरोइनसहित ६ जनालाई पक्राउ गरिएको छ।

बिहीबार दिउँसो लहान नगरपालिका–स्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष प्रहरी टोलीले अपरेशन सञ्चालन गर्ने क्रममा गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पाँच जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक भारतीय र एक नेपाली नागरिकको खुट्टामा गोली लागेको छ। दुवै जनाको उपचार भइरहेको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  २० : ४४  बजे