काठमाडौं, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक दलहरूप्रति नियोजित रूपमा घृणा फैलाउने र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको आरोप लगाउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र जनअधिकारको स्थापना राजनीतिक दलहरूको नेतृत्वमा सम्भव भएको स्मरण गराउँदै अहिले दलहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो।
उहाँले राजनीतिक दलहरूमाथि अविश्वास सिर्जना गर्ने र घृणा फैलाउने गतिविधि लोकतान्त्रिक प्रणालीका लागि घातक हुने उल्लेख गर्दै त्यस्ता प्रयासको सशक्त प्रतिवाद गरिने स्पष्ट पार्नुभयो।
अध्यक्ष ओलीले नयाँ र पुराना दलको नाममा समाजलाई विभाजित गर्ने बहसले घर–घरमा अनावश्यक विवाद र द्वन्द्व निम्त्याउने चेतावनी दिँदै लोकतन्त्रलाई बलियो बनाउन सबै राजनीतिक शक्तिले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले राजनीतिक दलहरू समयको आवश्यकता अनुसार आफूलाई रूपान्तरण गर्न सक्षम हुने उल्लेख गर्दै चुनौतीपूर्ण परिस्थितिमा पनि दलहरूले निरन्तर संघर्ष गर्दै देश र लोकतन्त्रको पक्षमा भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
अध्यक्ष ओलीले पुष्पलाल श्रेष्ठको वैचारिक योगदानलाई स्मरण गर्दै उहाँले अघि सारेका राष्ट्रियता, लोकतन्त्र र जनपक्षीय राजनीतिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा समेत जोड दिनुभयो।







प्रतिक्रिया