रौतहट, ७ साउन । भारतको बिहार राज्यस्थित रक्सौल प्रहरीले ७.८२ ग्राम ब्राउन सुगरसहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एकजना बाराको रामपुरका अमन लामा उर्फ अमन वर्मा र अर्का पर्साको वीरगञ्ज–गहवा निवासी कन्हैया कुमार रहेका छन् ।
घटनामा संलग्न रहेको आरोप लागेकी एक महिला भने फरार रहेकी छन् । रक्सौल प्रहरीका अनुसार लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनापछि एसडीपीओ मनीष आनन्दको नेतृत्वमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीले ह्वाट्सएपमार्फत प्राप्त भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै लक्ष्मीपुर क्षेत्रमा छापामारी गरेको थियो । बुधबार साँझ गरिएको उक्त कारबाहीका क्रममा दुवै नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट ७.८२ ग्राम ब्राउन सुगर, चोरी भएको पल्सर मोटरसाइकल र ओप्पो कम्पनीको एक थान मोबाइल फोन बरामद गरिएको छ । प्रहरीले फरार महिलाको खोजी तीव्र बनाएको जनाएको छ । साथै बरामद लागूऔषधको स्रोत, आपूर्ति सञ्जाल तथा यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रमेश महतोले जानकारी दिनुभयो ।
छापामारी अभियानमा प्रहरी अवर निरीक्षक अंशुली आर्या, विकास कुमार पासवानसहित अन्य प्रहरी कर्मचारीको सहभागिता रहेको थियो । मोतीहारीका प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातको निर्देशनमा सञ्चालन गरिएको यस अभियानले रक्सौल तथा आसपास क्षेत्रमा सक्रिय लागूऔषध तस्करहरूमा दबाब सिर्जना गरेको भारतीय प्रहरीको दाबी छ ।
प्रहरीले लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।







प्रतिक्रिया