रामेछाप, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस उहाँको जन्मथलो रामेछापको भँगेरीमा विभिन्न कार्यक्रम गरी श्रद्धापूर्वक मनाइएको छ।
नेकपा (एमाले) रामेछापको आयोजनामा सम्पन्न कार्यक्रममा भँगेरीस्थित शहीद गंगालाल श्रेष्ठ र संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सालिकामा पुष्पगुच्छा अर्पण गर्दै उहाँहरूको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गेलले पुष्पलाललाई नेपालको राजनीतिक इतिहासका दूरदर्शी र वैचारिक नेता भएको उल्लेख गर्नुभयो। उहाँले कम्युनिष्ट र लोकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने पुष्पलालको विचारलाई त्यतिबेला धेरैले आलोचना गरे पनि समयसँगै त्यही दृष्टिकोण सही सावित भएको बताउनुभयो। नेपालमा बहुदलीय व्यवस्था, लोकतान्त्रिक अभ्यास र गणतन्त्र स्थापनामा पुष्पलालको विचारले महत्वपूर्ण आधार तयार गरेको उहाँको भनाइ थियो।
ढुङ्गेलले वर्तमान राजनीतिक परिस्थितिमा पनि संविधानको रक्षा, राष्ट्रिय हित र लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि वामपन्थी तथा संविधान पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सामाजिक सञ्जालमार्फत वामपन्थी शक्तिमाथि नियोजित रूपमा नकारात्मक प्रचार भइरहेको दाबी गर्दै त्यसको सामना वैचारिक रूपमा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले नेकपा एमाले समयअनुसार आफूलाई रूपान्तरण गर्न तयार रहेको उल्लेख गर्दै देशको विकास, समृद्धि र राष्ट्रिय हितका लागि आवश्यक त्याग गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो। साथै, संविधान र लोकतान्त्रिक व्यवस्थाको पक्षमा उभिने सबै राजनीतिक शक्तिसँग सहकार्य गर्न एमाले सकारात्मक रहेको धारणा पनि व्यक्त गर्नुभयो।
स्मृति दिवस कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका नेता, जनप्रतिनिधि, विभिन्न जनसंगठनका प्रतिनिधि, नगर तथा गाउँ कमिटीका पदाधिकारी, कार्यकर्ता र स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पुष्पलाल श्रेष्ठको राजनीतिक योगदान, वैचारिक विरासत र नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले पुर्याउनुभएको भूमिकाको स्मरण गर्दै उहाँका आदर्शलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।







प्रतिक्रिया