बेइजिङ भ्रमणको तयारीमा रवि लामिछाने, उच्चस्तरीय भेटघाट हुने दाबी

काठमाडौं, ७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

उच्च सरकारी स्रोतका अनुसार पाँचदिने भ्रमणका क्रममा सभापति लामिछानेसहित चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने तयारीमा छ। भ्रमण पार्टी–टु–पार्टी सम्बन्धअन्तर्गत हुन लागेको बताइएको छ।

स्रोतका अनुसार भ्रमणका क्रममा चीनका विदेशमन्त्री वाङ यी तथा चिनियाँ पक्षका उच्च नेतृत्वसँग भेटघाट हुने अपेक्षा गरिएको छ। यद्यपि, भेटवार्तामा सहभागी हुने अन्य अधिकारीहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

भ्रमण टोलीमा सरकारी प्रतिनिधि भने सहभागी नहुने जनाइएको छ। नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयलाई केन्द्रमा राखेर छलफल हुने तयारी रहेको स्रोतको दाबी छ।

रास्वपाले भने भ्रमणको विस्तृत कार्यतालिका र प्रतिनिधिमण्डलका सदस्यहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १४ : ३९  बजे