चिया उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

काठमाडौं, ७ साउन । प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगी तथा व्यवसायीहरूसँग भेटवार्ता गर्दै नेपाली चिया उद्योगले भोगिरहेका समस्या र समाधानका उपायबारे छलफल गर्नुहुने भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा भारतीय नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण अवरुद्ध भएको चिया निर्यात, उद्योग सञ्चालनमा देखिएका चुनौती तथा उद्योगीका सुझाव मुख्य एजेन्डा रहनेछन्।

भेटमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टी–स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीलगायतका प्रतिनिधि सहभागी हुने जनाइएको छ।

भारतको नयाँ परीक्षण प्रणालीका कारण नेपाली चियाको निर्यात करिब दुई महिना प्रभावित हुँदा इलाम र झापाका दर्जनौँ चिया उद्योग बन्द भएका थिए। त्यसको असर उद्योगसँग आबद्ध श्रमिक र समग्र चिया व्यवसायमा परेको थियो।

प्रधानमन्त्री शाहले यसअघि पनि उद्योगी–व्यवसायीका विभिन्न छाता संगठनका प्रतिनिधिसँग निरन्तर छलफल गर्दै आउनुभएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  ०८ : ३३  बजे