नास्पातीका क्रेटमा लुकाएर ६५२ किलो गाँजा तस्करी, तीन जना पक्राउ

काठमाडौं, ७ साउन । सिरहाको लहान नगरपालिका–३ मा नास्पाती बोकेको पिकअप गाडीबाट ६५२ किलो गाँजाजस्तो पदार्थ बरामद भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा पार्किङमा रहेको बा२१च ५६६६ नम्बरको पिकअप खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजाजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल प्लास्टिकसहित ६६३ किलो र प्लास्टिक हटाउँदा ६५२ किलो रहेको छ।

प्रहरीले लहान–३ का श्यामकुमारी साह, भारतको बिहार मधुवनी घर भई हाल लहान बस्दै आएका गौरव महतो र उनका १९ वर्षीय छोरा शिवम साहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। बरामद गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  ०८ : ३१  बजे