लो घ्याकरमा भारतीय तिब्बती धर्मगुरु, सिक्का विवादसँगै बढ्यो कूटनीतिक चासो

काठमाडौं, ७ साउन । सरकारले एक रुपैयाँको सिक्कामा नेपालको चुच्चे नक्साको सट्टा मुस्ताङस्थित लो घ्याकर गुम्बाको चित्र राख्ने निर्णय गरेपछि उक्त गुम्बा फेरि चर्चामा आएको छ। यसैबीच भारतबाट आएका तिब्बती बौद्ध धर्मगुरुहरूको टोली गुम्बामा पुगेपछि घटनाक्रमप्रति थप चासो बढेको छ।

जानकारीअनुसार भारतको कोलकाता र देहरादुनबाट आएका केही तिब्बती बौद्ध धर्मगुरुहरू धार्मिक अनुष्ठान तथा पूजापाठका लागि लो घ्याकर गुम्बामा पुगेका हुन्। उनीहरूले केही दिन त्यहाँ बस्ने अनुमति लिएको बताइएको छ।

उक्त टोलीको गतिविधिबारे विभिन्न दाबी सार्वजनिक भएका छन्। केहीले दलाई लामासँग सम्बन्धित धार्मिक कार्यक्रम हुन सक्ने आशंका गरेका छन् भने स्थानीय तहका जनप्रतिनिधिहरूले नियमित धार्मिक कार्यक्रम वा प्रशिक्षण हुन सक्ने बताएका छन्।

लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले आफूलाई कुनै असामान्य गतिविधिबारे जानकारी नभएको बताउँदै यसअघि पनि यस्ता टोली गुम्बामा आउने गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रशिक्षण वा नियमित धार्मिक कार्यक्रम हुन सक्ने सम्भावना छ।

सरकारको सिक्का डिजाइनसम्बन्धी निर्णयसँगै लो घ्याकर गुम्बा राजनीतिक र कूटनीतिक बहसको केन्द्रमा रहेका बेला धर्मगुरुहरूको आगमनले थप चर्चा पाएको छ। यद्यपि, सम्बन्धित निकायहरूले कुनै विशेष सुरक्षा वा कूटनीतिक घटनाबारे आधिकारिक पुष्टि गरेका छैनन्।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  ०८ : ०४  बजे