संविधान संशोधनका लागि सुझाव संकलन अभियानमा एमाले

काठमाडौं, ६ साउन । नेकपा (एमाले) ले संविधान संशोधनसम्बन्धी प्रस्ताव तयार पार्ने उद्देश्यले सुझाव संकलन प्रक्रिया अघि बढाएको छ।

पार्टीको संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत गठित उपसमितिको बैठक बुधबार केन्द्रीय कार्यालय च्यासलमा संयोजक अग्नि खरेलको अध्यक्षतामा बसेको हो।

बैठकमा संघीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउन आवश्यक सुझाव संकलन गर्ने विधि र प्रक्रियाबारे विस्तृत छलफल भएको सदस्य सचिव महेश बर्तौलाले जानकारी दिनुभयो।

उहाँका अनुसार संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभव, उपलब्धि र देखिएका व्यावहारिक चुनौतीको समीक्षा गर्दै संशोधन आवश्यक विषयहरूको राजनीतिक, संवैधानिक, प्रशासनिक र कानुनी दृष्टिकोणबाट अध्ययन गर्ने विषयमा पनि छलफल भएको छ।

एमालेले राजनीतिक दल, संवैधानिक निकाय, कानुन व्यवसायी, विषयगत विज्ञ, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाबाट सुझाव संकलन गरी तथ्य, तर्क र औचित्यका आधारमा संविधान संशोधनको प्रस्ताव तयार गर्ने जनाएको छ।

बैठकमा संयोजक खरेलसहित महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे, अमर थापा तथा पूर्व कानुनमन्त्री माधवप्रसाद पौडेल विज्ञका रूपमा सहभागी हुनुहुन्थ्यो।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  २१ : २५  बजे