सरकारले २९ भूमिहीन सुकुम्बासीलाई गृहजिल्ला फर्काउने प्रक्रिया अघि बढायो,कतै पनि घरजग्गा नभेटिएका २९ जना

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित भएका भूमिहीन सुकुम्बासीलाई गृहजिल्लामै व्यवस्थापन गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ। भूमि समस्या समाधान आयोगले सम्पत्ति नभएको पुष्टि भएका लाभग्राहीलाई सम्बन्धित जिल्लाको समिति र स्थानीय तहमा सम्पर्क गर्न आग्रह गर्दै सूचना जारी गरेको हो।

सरकारले वैशाख ११ गतेदेखि नदी किनार खाली गराउने अभियानका क्रममा होल्डिङ सेन्टरमा राखिएका परिवारहरूको विवरण छानबिन गरेको थियो। त्यसक्रममा ३८८ परिवारका एक हजार ४८८ जनाको सम्पत्ति विवरण परीक्षण गरिएको थियो।

छानबिनबाट कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक गर्दै उनीहरूलाई स्थायी ठेगाना रहेको जिल्लाको भूमि समस्या समाधान समिति तथा सम्बन्धित पालिकामा यथाशीघ्र सम्पर्क गर्न भनिएको छ।

आयोगका अनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरण तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट प्राप्त प्रतिवेदनका आधारमा घरजग्गाविहीन लाभग्राहीको पहिचान गरिएको हो।

उनीहरूको निवेदन, डिजिटल विवरण र आवश्यक कागजात सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको आयोगले जनाएको छ। अब स्वीकृत कार्यविधिअनुसार सम्बन्धित स्थानीय तहबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनको प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १५ : २३  बजे