राजपत्रमा प्रकाशित भयो स्वकीय सचिवसम्बन्धी व्यवस्था, सांसददेखि सभामुखसम्मलाई सुविधा

काठमाडौं, ४ साउन । संघीय संसदका पदाधिकारी तथा सांसदहरूले स्वकीय सचिव राख्न पाउने सम्बन्धी सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। नयाँ व्यवस्थासँगै विभिन्न पदका जनप्रतिनिधिले पदअनुसारका तहका स्वकीय सचिव राख्न पाउने भएका छन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार अब संघीय संसदका प्रत्येक सांसदले राजपत्राङ्कित तृतीय श्रेणी (रा.प. तृतीय) को स्वकीय सचिव राख्न पाउने व्यवस्था लागू भएको छ।

त्यस्तै, सभामुख र राष्ट्रियसभा अध्यक्षले राजपत्राङ्कित प्रथम श्रेणी (रा.प.प्र.) सरहका प्रमुख स्वकीय सचिव एक जना राख्न पाउनेछन्। साथै, उनीहरूले द्वितीय र तृतीय श्रेणीका थप दुई स्वकीय सचिव समेत नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

यसैगरी विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरूले राजपत्राङ्कित द्वितीय श्रेणीका स्वकीय सचिव राख्न पाउने प्रावधान पनि लागू गरिएको छ।

राजपत्रमा उल्लेख भएअनुसार स्वकीय सचिवहरूले सम्बन्धित पदको सुरु स्केलअनुसारको तलब मात्र प्राप्त गर्नेछन्। उनीहरूको पारिश्रमिक प्रचलित कानुनबमोजिम बैंक खातामार्फत भुक्तानी गरिने व्यवस्था गरिएको छ।

सरकारले स्वकीय सचिवालयको व्यवस्थापनलाई संस्थागत र व्यवस्थित बनाउन उक्त निर्णय राजपत्रमार्फत कार्यान्वयनमा ल्याएको जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  २१ : १३  बजे