सिलिकनमा मिसाइएको लिक्विड कोकिनसहित दुई विदेशी महिला पक्राउ, नेपालमा तस्करीको नयाँ शैली सार्वजनिक

काठमाडौं, ४ साउन । लागू औषध नियन्त्रण ब्यूरोले सिलिकनमा मिसाएर कपडाजस्तै आकारमा तयार पारिएको ४ किलो २८८ ग्राम लिक्विड कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ। ब्यूरोले नेपालमा कोकिन तस्करीका लागि अपनाइएको यो नयाँ शैली भएको जनाएको छ।

ब्यूरोका अनुसार कतार एयरवेजको उडानमार्फत कोलम्बियाबाट दोहा हुँदै काठमाडौं आएकी ६२ वर्षीया कोलम्बियन नागरिक योनेथ गार्सोन काइसेडोलाई काठमाडौं महानगरपालिका–१६ स्थित एक होटलमा निगरानीपछि खानतलासी गर्दा कोकिन बरामद भएको हो।

प्रहरीका अनुसार उनको सुटकेसभित्र विशेष रूपमा फल्स बटम बनाएर ब्ल्याङ्केट, सर्ट, ज्याकेट, एप्रोन र नेक पिलोभित्र सिलिकनसँग मिसाइएको अवस्थामा लिक्विड कोकिन लुकाइएको थियो। परीक्षणका क्रममा त्यहाँबाट ४ किलो २८८ ग्राम कोकिन बरामद गरिएको ब्यूरोले जनाएको छ।

घटनाको थप अनुसन्धानका क्रममा उक्त कोकिन लिन भारतको मणिपुरबाट काठमाडौं पुगेकी ३७ वर्षीया भारतीय नागरिक रेबेका पुल्लेलाई पनि पक्राउ गरिएको छ। दुवै जनामाथि लागू औषध नियन्त्रण ऐनअनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूबाट कोकिनसहित एक–एक थान राहदानी, भारतीय निर्वाचन आयोगको परिचयपत्र, २०० अमेरिकी डलर, चार थान मोबाइल फोन र एक थान सुटकेस बरामद गरिएको छ।

ब्यूरोका अनुसार हालसम्म नेपालमा कोकिन निलेर, झोलाभित्र लुकाएर वा अन्य सामानमा मिसाएर ल्याउने घटनाहरू भेटिँदै आएका थिए। तर यसपटक लिक्विड कोकिनलाई सिलिकनसँग मिसाई कपडाको आकार र बनोटमा ढालेर तस्करी गर्ने विधि पहिलो पटक फेला परेको हो। यसले अन्तर्राष्ट्रिय लागू औषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ प्रविधि प्रयोग गर्न थालेको संकेत गरेको ब्यूरोको निष्कर्ष छ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा अन्तर्राष्ट्रिय लागू औषध सञ्जालबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १५ : ०३  बजे