काठमाडौं, ४ साउन । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेषगरी पहाडी तथा केही तराई क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका अधिकांश क्षेत्रमा वर्षाको प्रभाव देखिनेछ। दिउँसो कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा तथा वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी रातिको समयमा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
पूर्वानुमानअनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात, मधेस प्रदेशका साथै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
लगातारको वर्षासँगै नदी तथा खोलामा बहाव बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।







प्रतिक्रिया