काठमाडौं, ३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले जापान भ्रमणका क्रममा आफूलाई आक्रमण भएको भन्ने सामाजिक सञ्जालमा फैलाइएको दाबीलाई असत्य भन्दै त्यसप्रति आपत्ति जनाउनुभएको छ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सांसद शाहीले आफू जापानमा सुरक्षित रहेको स्पष्ट पार्दै भ्रमपूर्ण सूचना नफैलाउन आग्रह गर्नुभएको हो। उहाँले आफूविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको आरोप पनि लगाउनुभयो।
सांसद शाहीले संसदमा उठाएका प्रश्नको जवाफ सामाजिक सञ्जालमा होइन, सम्बन्धित नेतृत्वले संसदभित्र दिनुपर्ने बताउँदै रास्वपाका कार्यकर्तालाई आफ्ना पार्टी नेतृत्वसँग जवाफ माग्न चुनौती दिनुभयो।
उहाँले आफू जनताको मुद्दाका लागि संघर्ष गर्दै आएको उल्लेख गर्दै आफ्नो सार्वजनिक जीवन प्रश्न उठाउने र जवाफ माग्ने अधिकारसँग जोडिएको बताउनुभयो। सरकारका कामकारबाहीबारे संसदमा प्रश्न उठाउनु सांसदको संवैधानिक दायित्व भएको उहाँको भनाइ थियो।
सांसद शाहीले कर्णालीमा भएको एक घटनाको प्रसंग उल्लेख गर्दै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग्ने कार्यलाई कुनै पनि अफवाह वा दबाबले रोक्न नसक्ने धारणा व्यक्त गर्नुभयो।
पछिल्लो समय संसदमा सरकारको आलोचना गरेपछि आफू र राप्रपाकी सांसद खुश्बु ओलीविरुद्ध सामाजिक सञ्जालमा नियोजित अभियान चलाइएको उहाँको दाबी छ। यस विषयमा उजुरीका आधारमा केही व्यक्तिलाई पक्राउसमेत गरिएको जनाइएको छ।







प्रतिक्रिया