काठमाडौं, ३ साउन । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आफ्ना माग राख्दै आन्दोलनरत निहारिका राजपुत र बिनु यादवलाई गृहमन्त्रीसँग भेट गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।
आइतबार बसेको समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना गुनासा र माग सम्बन्धित मन्त्रीसमक्ष राख्न पाउने अधिकार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक समन्वय गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको हो।
उहाँले निहारिका राजपुत र बिनु यादवका विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी पहल गरिने जानकारी दिँदै नागरिकले आफ्ना समस्या प्रत्यक्ष रूपमा मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा भेटघाटको वातावरण मिलाउनुपर्ने बताउनुभयो।
निहारिका राजपुत र बिनु यादव केही दिनदेखि न्यायको माग गर्दै गृहमन्त्री सुधन गुरुङसँग भेट गराइदिनुपर्ने मागसहित सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै आएका छन्। उनीहरूले आफ्नो माग सुनुवाइ नभएको गुनासो गर्दै आन्दोलन जारी राखेका छन्।
यसक्रममा धर्नास्थलमा प्रहरीसँग पटक–पटक धकेलाधकेल तथा धरपकडसमेत भएको घटनापछि उनीहरूको विषय थप चर्चामा आएको छ। संसदीय समितिको पछिल्लो निर्देशनसँगै गृह मन्त्रालयले भेटघाटको व्यवस्था कसरी मिलाउँछ भन्ने चासो बढेको छ।







प्रतिक्रिया