पोखराको सेती नदी पहिरोले थुनियो, जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौं, ३ साउन । लगातारको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमानास्थित रातोपैह्रो क्षेत्रमा नदी कटानपछि खसेको ठूलो पहिरोले नदीको बहाव अवरुद्ध भएको हो।

पहिरो खसेको जानकारी प्राप्त भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले आइतबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेको छ।

पहिरोका कारण नदीको पानी सहज रूपमा बग्न नसकेको र बहाव अवरुद्ध भएको स्थानभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरसम्म बढेको उपप्रमुख गुरुङले जानकारी दिनुभयो।

प्रशासनले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्बन्धित निकायले पहिरोको अवस्था, नदीको बहाव र सम्भावित जोखिमको निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

लगातारको वर्षासँगै पहिरो र बाढीको जोखिम बढ्दै गएकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित रहन तथा प्रशासनबाट जारी हुने सूचना पालना गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १४ : ४८  बजे