काठमाडौं, १ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य–मान्यता विपरीत जनतालाई त्रासमा राखेर तानाशाही शैलीमा शासन गरिरहेको आरोप लगाउनुभएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पछिल्ला सरकारी गतिविधिले लोकतान्त्रिक अधिकारमाथि आघात पुगेको दाबी गर्नुभयो। उहाँले केही दिनअघि कीर्तिपुरमा जेनजी अभियन्ता माजिद अन्सारीमाथि भएको प्रहरी हस्तक्षेपलाई “अत्याचारको पराकाष्ठा”को संज्ञा दिँदै शान्तिपूर्ण रूपमा अवलोकन गर्न गएका व्यक्तिमाथि गरिएको व्यवहार अस्वीकार्य रहेको बताउनुभयो।
उहाँले उक्त घटनाको विरोधमा विराटनगरमा भएको प्रदर्शनसमेत स्वतन्त्र रूपमा गर्न नदिइएको उल्लेख गर्दै वर्तमान सरकार तानाशाहीभन्दा पनि फासिवादी शैलीमा अघि बढेको आरोप लगाउनुभयो।
अध्यक्ष ओलीले सञ्चारमाध्यमका कार्यालय अगाडि सवारीसाधन तेर्स्याएर अवरोध सिर्जना गरिएका घटनाप्रति पनि आपत्ति जनाउँदै त्यसमा सरकारकै निर्देशन र संरक्षण रहेको आरोप लगाउनुभयो। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कुनै कारबाही नभएको उल्लेख गर्दै उहाँले सरकारले नै त्यस्ता काम गराएकाले कारबाही हुन नसकेको दाबी गर्नुभयो।
जनताको सहिष्णुताको दुरुपयोग भइरहेको भन्दै अध्यक्ष ओलीले लोकतान्त्रिक समाजमा यस्ता गतिविधि स्वीकार्य हुन नसक्ने बताउनुभयो। उहाँले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सञ्चारमाध्यमको स्वतन्त्रतामाथि हस्तक्षेप हुनु लोकतन्त्रका लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गर्नुभयो।







प्रतिक्रिया