काठमाडौं, १ साउन । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरमा कार्यरत न्यायाधीश बासुदेव आचार्यलाई विशेष अदालत काठमाडौंको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको परिषद् बैठकले उक्त निर्णय गरेको हो।
न्यायाधीश आचार्य यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने संलग्न सहकारी ठगी मुद्दाको उच्च अदालत तहको इजलासमा सहभागी थिए। गत पुसमा न्यायाधीश आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई उनीमाथि दाबी गरिएको बिगोमध्ये २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो।
उक्त आदेशपछि प्रतिवादीबाट बिगो बराबरको धरौटी लिएर रिहा गर्ने कानुनी आधारबारे न्यायिक तथा कानुनी वृत्तमा व्यापक बहस भएको थियो। यसअघि जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने माग अस्वीकार गरेको थियो भने उच्च अदालतले फरक आदेश दिएको थियो।
सामान्यतया अदालतहरूमा न्यायाधीशको सरुवा दुई–दुई वर्षको अन्तरालमा हुने प्रचलन रहे पनि न्यायाधीश आचार्यलाई एक वर्षमै विशेष अदालतमा सिफारिस गरिएको विषयले पनि चासो बढाएको छ।
हाल विशेष अदालतको अध्यक्षका रूपमा न्यायाधीश सुदर्शनदेव भट्ट कार्यरत छन्। परिषद्को सिफारिसपछि संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार नयाँ नियुक्ति प्रक्रिया अघि बढ्नेछ।









प्रतिक्रिया