सरकारभित्र बढ्यो खटपट? मन्त्री हेरफेरदेखि सल्लाहकार परिवर्तनसम्म बालेन–रवि छलफल

काठमाडौं, १ साउन । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भएको लामो छलफलमा सरकारको कार्यसम्पादन, मन्त्रीहरूको भूमिकादेखि प्रधानमन्त्रीका सल्लाहकारहरूको कार्यशैलीसम्मका विषयमा गम्भीर छलफल भएको स्रोतहरूले बताएका छन्।

उच्च राजनीतिक स्रोतका अनुसार असार २८ गते बूढानीलकण्ठस्थित सभापति लामिछानेको निवासमा करिब चार घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम तथा महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउनुभएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री शाहले सरकारका महत्वपूर्ण निर्णयहरू अदालतबाट पटक–पटक उल्टिनुमा कानून मन्त्रालय र महान्यायाधिवक्ताको प्रभावकारी भूमिका नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो। साथै अर्थमन्त्री वाग्लेको बजेट कार्यान्वयन, शेयर बजारको अवस्था, विद्युतीय सवारीसाधनसम्बन्धी भन्सार विवाद तथा समग्र आर्थिक व्यवस्थापनप्रति पनि प्रश्न उठाउनुभएको बताइएको छ।

यता, सभापति लामिछानेले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव कुमार बेनराजनीतिक सल्लाहकार असिम शाहको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार टोलीलाई पुनर्गठन गर्न सुझाव दिनुभएको स्रोतको दाबी छ। सल्लाहकारहरूको गतिविधिका कारण सरकार अनावश्यक विवादमा परेको र प्रशासनिक प्रणालीमा नकारात्मक प्रभाव परेको भन्दै उहाँले परिपक्व र जिम्मेवार व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने धारणा राख्नुभएको बताइएको छ।

संविधान संशोधन बहस, राहदानी छपाइ प्रकरण, अख्तियारका पदाधिकारीसँगको व्यवहार तथा कूटनीतिक विषयमा देखिएका विवादप्रति पनि छलफल भएको स्रोतको भनाइ छ।

यद्यपि बैठकपछि संसद् परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभापति लामिछानेले प्रधानमन्त्रीसँग विभिन्न विषयमा सौहार्दपूर्ण ढंगले छलफल भएको बताउनुभएको थियो।

यस विषयमा प्रधानमन्त्रीको सचिवालय, रास्वपा नेतृत्व वा सम्बन्धित मन्त्रीहरूबाट औपचारिक पुष्टि वा प्रतिक्रिया भने सार्वजनिक भएको छैन। राजनीतिक वृत्तमा भने सरकार सञ्चालनको सय दिन पूरा भएसँगै नेतृत्व, कार्यशैली र समन्वयलाई लिएर सत्तारूढ दलभित्र आन्तरिक छलफल र मतभेद बढिरहेको चर्चा भइरहेको छ।

प्रकाशित मिति: १ श्रावण २०८३, शुक्रबार  ०८ : ५८  बजे