काठमाडौं, ३१ साउन । नेपाल खेलकुद महासंघले अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित शान्तिपूर्ण तथा सांकेतिक विरोध प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूको पक्राउप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै उनीहरूलाई बिना शर्त तत्काल रिहा गर्न तथा नागरिक अधिकारमाथिको दमनकारी व्यवहार अन्त्य गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष विपेन्द्र प्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला, प्रदर्शन तथा विरोध गर्ने मौलिक अधिकारमाथि राज्यबाट भएको हस्तक्षेप लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक स्वतन्त्रता र विधिको शासनमाथिको प्रत्यक्ष प्रहार भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा जनताका जायज आवाजलाई संवाद र लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्नुको सट्टा राज्य संयन्त्रको प्रयोग गरी दमन, गिरफ्तारी र त्रास सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ। गणेश नेपालीको आत्मदाह घटनापछि उत्पन्न जनचासोको विषयमा गरिएको सांकेतिक विरोधमाथिको दमनले पञ्चायती शैलीको निरंकुश सोचको पुनरावृत्ति भएको अनुभूति गराएको महासंघको भनाइ छ।
महासंघले लोकतन्त्रको सार असहमतिको सम्मान, बहुल विचारको स्वीकार्यता र जनउत्तरदायित्वमा आधारित हुने उल्लेख गर्दै नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि गतिविधिले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने चेतावनी दिएको छ।
विज्ञप्तिमा सम्पूर्ण खेलकर्मी, युवा तथा लोकतन्त्रप्रेमी नागरिकलाई संविधानप्रदत्त अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरिएको छ। साथै, पक्राउ परेका दीपक धामीसहित सबै विद्यार्थी नेताहरूलाई तत्काल बिना शर्त रिहा गर्न तथा दमनकारी गतिविधि रोक्न सरकारसँग जोडदार माग गरिएको छ।








प्रतिक्रिया