काठमाडौं, ३१ असार । अवैध लागुऔषधको द्रुत पहिचान, अनुसन्धान र ओसारपसार नियन्त्रणलाई प्रभावकारी बनाउन संयुक्त राज्य अमेरिकाले नेपाल प्रहरी र भन्सार विभागलाई अत्याधुनिक लागुऔषध तथा प्रिकर्सर परीक्षण किट उपलब्ध गराएको छ ।

अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला ब्यूरो (आईएनएल) ले लागुऔषध तथा अपराध सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) सँगको सहकार्यमा बुधबार पुल्चोकस्थित यूएन हाउसमा आयोजित कार्यक्रममा उक्त किट हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट उर्बमले नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी सुवास बोहरालाई किट हस्तान्तरण गर्नुभयो । यसअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरोलाई २८ थान र भन्सार विभागलाई १२ थान परीक्षण किट प्रदान गरिएको छ ।
उक्त किटको प्रयोगबाट घटनास्थलमै शङ्कास्पद पदार्थ लागुऔषध हो वा होइन भन्ने प्रारम्भिक परीक्षण गर्नुका साथै लागुऔषध उत्पादनमा प्रयोग हुने प्रिकर्सर रसायनको समेत पहिचान गर्न सकिनेछ । एसएसपी सुवास बोहराले परीक्षण किटले नेपालभित्र तथा नेपाल हुँदै अन्य मुलुकतर्फ हुने लागुऔषध ओसारपसार नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

उहाँका अनुसार घटनास्थलमै तत्काल परीक्षण गर्न सकिने भएकाले अनुसन्धान प्रक्रिया थप छिटो, प्रभावकारी र प्रमाणमा आधारित बन्नेछ । कार्यवाहक राजदूत उर्बमले अन्तरदेशीय अपराध नियन्त्रणका लागि नेपाल र अमेरिकाबीचको सहकार्य अझ सुदृढ बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले परीक्षण किटले सीमावर्ती क्षेत्र र फिल्डमा कार्यरत प्रहरी तथा भन्सार कर्मचारीको क्षमता अभिवृद्धि गर्दै लागुऔषध तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । एक परीक्षण किटबाट करिब २०० वटा शङ्कास्पद नमुनाको परीक्षण गर्न सकिने जनाइएको छ ।

यसबाट अग्रपङ्क्तिमा खटिने प्रहरी तथा भन्सार कर्मचारीलाई छिटो र विश्वसनीय प्रमाण सङ्कलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया