काठमाडौं, २८ असार । भक्तपुरको खरिपाटीस्थित सुकुम्बासीका लागि सञ्चालन गरिएको होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएको छ।
डुबान प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न रिपोर्टिङका लागि पुगेका पत्रकारलाई ‘माथिबाट अनुमति ल्याउनुस्’ भन्दै सुरक्षाकर्मीले प्रवेश गर्न नदिएको हो।
सञ्चारकर्मीहरूलाई गृह मन्त्रालय वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को अनुमति लिएपछि मात्रै होल्डिङ सेन्टरभित्र प्रवेश गर्न पाइने जानकारी दिइएको थियो।
आजै गृहमन्त्री सुधन गुरुङसहितको सरकारी टोलीले उक्त होल्डिङ सेन्टरको निरीक्षण गरेको थियो। त्यसलगत्तै समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई भने प्रवेशमा रोक लगाइएको हो।
कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर बागमती नदीको डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई अस्थायी रूपमा खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। उनीहरूको वर्तमान अवस्था बुझ्न पुगेका सञ्चारकर्मीलाई प्रवेश नदिइएपछि सूचना पहुँच र प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको छ।







प्रतिक्रिया